काठमाडौं । आज पनि सुनको भाउले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार छापावाल सुनको मूल्य १ लाख ७५ हजार ४ सय रुपैयाँ कायम भएको थियो । आज बढेर छापावाल सुन तोलामा १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य हालसम्मकै उच्च रहेको छ । यसअघि चैत्र २१ गते सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ८० हजार तीनसय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेसँगै सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको छ । अन्तर्राष्ट्रिय बजारमा एकैदिन सुनको मूल्य ४ प्रतिशतभन्दा धेरै बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार १ सय डलर नाघेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार आठसय ३५ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।