काठमाडौं । न्युजिल्यान्डले यो वर्षको अन्त्यसम्म सीमा बन्द गर्ने भएको छ । प्रधानमन्त्री जसिन्डा आर्डेनले मुलुकको सीमा यो वर्षको अन्त्यसम्म बन्द रहने बताएकी हुन् । कोरोना महामारी नियन्त्रण गर्ने र अर्थतन्त्र खुला गर्ने रणनीतिअनुरुप सीमा बन्द गरिने उनले बताएकी छिन् ।
जोखिमको तह हेरेर अर्को वर्षको सुरुवातदेखि क्वारेन्टाइन–फ्री यात्राको प्रबन्ध गर्ने तयारी भएको पनि उनले जानकारी दिइन् । सन् २०२१ को अन्त्यसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने पनि सरकारको प्राथमिकता रहेको उनको भनाइ छ ।
न्युजिल्यान्डले कोरोना नियन्त्रण तथा रोकथामका लागि उल्लेखनीय कदम चालेको भन्दै प्रशंसा भइरहेको छ । करिब ५० लाख नागरिक रहेको न्युजिल्यान्डमा अहिलेसम्म २६ जनाको मात्र कोरोना भाइरसबाट मृत्यु भएको छ ।