काठमाडौं । अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार आज २.०७ अंकले बढेको छ ।
सो वृद्धिपछि नेप्से परिसूचक २६५८.०२ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८७ करोडको कारोबार भएको छ । कुल ८३ कम्पनीको मूल्य बढ्दा १६१ को घटेको छ भने एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ ।
लगानी समूह सबैभन्दा धेरै २.४ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर ०.२२, व्यापार ०.३९ र बैंकिङ ०.०३ प्रतिशतले बढेका छन् । विकास बैंक ०.७६, फाइनान्स ०.८३, होटल तथा पर्यटन १.१६, जीवन बीमा ०.३२, उत्पादन ०.१७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.२८ र अन्य समूह ०.१३ प्रतिशतले घटेका छन् । दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै ङादी ग्रुप, विन नेपाल लघुवित्त र युनिभर्सल पावरको मूल्य ७ प्रतिशतले बढेको छ ।
नेपाल हाइड्रो डेभलपर्सको ७.१२ प्रतिशतले घटेको छ । ग्रिन डेभलपमेन्ट बैंकको ४.८५ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ४.२० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, युनिभर्सल पावर र एचआईडीसीएल लगातार अगाडि रहेका छन् ।