काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ नरहेको बताएका छन् । शुक्रबार संघीय संसद्को छैठौं अधिवेशनको प्रारम्भमा प्रतिनिधि सभामा दलको तर्फबाट बोल्दै घिमिरेले यस्तो बताएका हुन् ।
घिमिरेले भने, ‘आजको विश्वमा सम्बन्धित देशको करदाताले तिरेको कर सोही देशको जनताको हितमा खर्च गर्नुपर्छ भन्ने मान्यता विकसित भइरहेको अवस्थामा हामीले पनि वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ छैन ।’ जिडिपीको ४०/४२ प्रतिशत ऋण भार हुँदैमा आतिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले भने, ‘तर त्यो ऋण कति प्रतिफल युक्त आयोजनामा खर्च भयो महत्वपूर्ण हुन्छ ।’
नेपाल सम्भावनायुक्त मुलुक भएको र आन्तरिक सम्भावनालाई ख्याल गर्नुपर्नेमा उनले जोड दिएका छन् । छिमेकी मुलुक भारत र चीनबाट नेपालले लिन सक्ने जति फाइदा लिन नसकिरहेको उनले बताएका छन् । उनले भने, ‘कृषि उद्योग र जलस्रोत क्षेत्रमा छिमेकी मुलुकबाट लाभ लिन सक्दछौं । यी मानव सागरबाट हामीले पर्यटनमा लाभ लिन सक्छौं ।’
उनले ठूला परियोजना नेपाल ल्याउन सक्ने यस निम्ति अन्तराष्ट्रिय लगानी आर्कषित गर्नुपर्ने बताएका छन् । नेपालमा केही भएको छैन भन्ने भाष्य गलत रहेको भन्दै उनले थप प्रगतिका लागि अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले व्यवस्था मात्रै परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्नेहरू गलत रहेको बताएका छन् । परिवर्तनको अवस्था तथ्यमै देखिने उनको भनाई छ ।