काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार १९.३० अंकले बढेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १९.३० अंक बढेको हो ।
सो वृद्धिपछि नेप्से परिसूचक २६२८.३६ अंकमा कायम भएको छ । नेप्से बढ्दा आज कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ८ अर्ब ५० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३५ करोडको कारोबार भएको छ । कुल १८५ कम्पनीको मूल्य बढ्दा ६० को घटेको छ भने दुईको अघिल्लो मूल्यमै कारोबार भएको छ । आज होटल तथा पर्यटन सेक्टर १.२४ प्रतिशतले घटेको छ भने अरु सबै बढेका छन् ।
विकास बैंक समूह सबैभन्दा धेरै १.८८ प्रतिशतले बढेको छ । बैंकिङ १.१७, फाइनान्स ०.७०, हाइड्रोपावर ०.९४, लगानी ०.७२, जीवन बीमा ०.४१, उत्पादन ०.२८, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा १.१२, अन्य ०.४४ र व्यापार ०.५७ प्रतिशतले बढेका छन् । ४ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक र तेह्रथुम पावरको मूल्य १० प्रतिशतले बढेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको ९.७३, ग्रीन डेभलपमेन्ट बैंकको ९.४६, रावा इनर्जीको ६.९८, एनएलजी इन्स्योरेन्सको ६.२६ प्रतिशत मूल्य बढेको छ । विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । छ्याङ्दी हाइड्रोपावरको ४.४० तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ४.३९ प्रतिशतले घटेको छ ।
रकमका आधारमा आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप र युनिभर्सल पावर छन् ।