काठमाडौँ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान खुला गर्ने निर्णय गरेको छ । यस विषयमा भने सरकारका प्रवक्ताले आज जानकारी गराउने छन् । उक्त निर्णयको पत्र प्राप्त भएलगत्तै उडानहरु सामान्य दिनमा झै सुचारु हुनेछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठका अनुसार, सोमबारको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक लगाइएको निषेधाज्ञाअघिकै अवस्थामा सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ ।
अब नेपाललाई रोक नलगाइएका मुलुकमा नियमित उडान सुचारु गरिने पर्यटन मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को निर्णय प्राप्त हुनेबित्तिकै नागरिक उड्डयन प्राधिकरणलाई यसबारे जानकारी दिइने छ ।
सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ५९ औं दिनपछि गत बिहीबारदेखि आधा संख्यामा संचालनमा ल्याएको थियो ।
त्यस्तै नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न भन्दै मन्त्रिपरिषद् बैठकले भारत–नेपालबाहेक सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि बन्द गर्ने निर्णय गरेको थियो ।