बुधवार, आश्विन १४ गते २०८३

पाँचथरको फालोट क्षेत्रस्थित ‘गोठ–बास’मा पर्यटक आकर्षित हुँदै

सोमवार , बैशाख ७, २०८३

पाँचथर । पाँचथरको को चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पु¥याएको छ ।
 
विसं २०७४ सालदेखि समुन्द्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन संवद्र्धन हुनाका साथै चौँरीजन्य सामग्रीले अन्तरराष्ट्रिय बजार पाएको छ । चौँरीपालकका गोठहरु नै अहिले पर्यटक बस्ने स्थल बनेका छन् भने यहाँ पूर्वाधार विकास पनि बढ्दै गएको छ ।
 
फालोट याक गोठबासका सञ्चालक एवम् अगुवा चौँरीपालक चन्द्रलाल नेपालका अनुसार महोत्सव आयोजना हुन थालेपछि चौँरी गोठालाहरुमै उत्साह बढेको छ । फालोट क्षेत्रमा ०७४ सालअघि १८ वटा चौँरी गोठ रहेकामा अहिले ३१ वटा गोठ रहेका छन् । “पेसाप्रति युवा र महिलाहरु आकर्षित छन् । 
 
पहिले पुरुषहरु मात्रै गोठमा बस्ने चलन थियो”, उनले भने “गोठहरु पहिलेभन्दा धेरै सुधार भएका छन् । अहिले गोठमै पर्यटकलाई राख्ने प्रबन्ध भएको छ ।” जसलाई ‘गोठ–बास’  भनिन्छ । गोठालाहरु नै पर्यटनतर्फ आकर्षित भएका छन् । तर सबै गोठमा गोठबास कार्यान्वयन हुन सकेको छैन । अहिले १०–१२ वटा गोठले मात्रै पर्यटक राख्न सक्छन् । सन्दकपुर आहालदेखि फालोटसम्म रहेका यी गोठमा गरेर करिब १५० मानिस यहाँ बास बस्न सक्दछन् । 
 
वार्षिक रुपमा कम्तीमा पाँच हजार पर्यटक आउने गरेको नेपालको भनाइ छ । असार, साउन र भदौमा अत्यधिक वर्षाका कारण गोठहरु गाउँतर्फ झारिने हुँदा पर्यटकहरुलाई पुग्न र बास बस्न कठिन पर्ने गरेको छ । पहिले यहाँ चौँरीको घ्यू र छुर्पी मात्रै उत्पादन हुने गरेकामा अहिले चिज उत्पादन गरी बिक्री हुँदै आएको छ । महोत्सवकै कारण चौँरीजन्य सामग्रीले बजार पाएको, सरकारी निकायहरुले सहयोग गर्न थालेका र पर्यटकहरु पुग्न थालेको नेपालको भनाइ छ । 
 
फालेलुङको चारराते, तीन सिमानालगायत क्षेत्रका चौँरीपालकहरुको समूह कञ्चनजङ्घा याक चिज उत्पादक समूहका अध्यक्ष रामचन्द्र गुरुङका अनुसार पछिल्ला वर्षहरुमा चौँरीको सङ्ख्यामा अत्यधिक वृद्धि हुँदै गएको छ । चौँरीपालनमै आधारित भएर जीविकोपार्जन गर्नेको सङ्ख्या पनि बढेको छ भने पर्यापर्यटनको विकासमा धेरै ठूलो मद्दत पुगेको छ । यसको मुख्य कारण पर्यटकको सङ्ख्या बढ्दै जानु हो । चौँरी महोत्सवले पर्यटक भित्र्याएपछि चौँरीका सामग्रीले राम्रो मूल्य पाउन थालेका छन् । 
 
गुरुङका अनुसार चौँरीको हाडखोर पनि बिक्री हुन्छ । सिङ, पुच्छर पनि बिक्री हुन्छ । चौँरीका धेरै सामग्री धार्मिक÷सांस्कृतिक कार्यमा प्रयोग गरिने हुँदा धेरै माध्यमबाट गोठालाहरुले आम्दानी गर्ने गरेका छन् ।
 
पछिल्लो समय नयाँ याकहरु ल्याएर चौँरीका नयाँ प्रजातिको विकासको प्रयास भइरहेको छ, जसले चौँरीको सङ्ख्या बढाउँदै लगेको छ । ताप्लेजुङका हिमाली भेग र भूटानबाट याक ल्याएर उन्नत प्रजाति उत्पादनको प्रयास चलिरहेको छ, जसमा अहिलेसम्म ४० बढी चौँरी हुर्किएको गुरुङको भनाइ छ । अब सरकारले चौँरीमा कृत्रिम गर्भाधानमा सहयोग गर्नुपर्ने उनको माग छ । 
 
चौँरीजन्य सामग्रीको बजार पनि सहजै रहेको अध्यक्ष गुरुङले बताए । “छुर्पीको निर्यात कहिलेकाहीँ समस्या आउने गरेको छ । तर बिक्री राम्रै भइरहेको छ”, उन भने, “अहिले याक चिज उत्पादन भइरहेको छ । यसको बजार पनि राम्रै छ । तर मूल्य वृद्धि हुनुपर्छ ।” याक चिज काठमाडौँमा धेरै निर्यात हुन्छ । अहिले चिज प्रतिकिलो रु ८०० देखि रु एक हजारसम्ममा बिक्री भइरहेको छ भने चौँरीको घ्यू रु ८०० छ । 
 
 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार