सोमवार, कार्तिक १० गते २०८३

सुजिता मृत्यु प्रकरण : अपहरण हो की होइन भन्नेमा प्रहरीको आशंका

बिहिवार , आषाढ २४, २०७८

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीय सुजिता भण्डारीको हत्या प्रकरणमा उनको अपहरण भएको होकी होइन भन्नेमा प्रहरीले आशंका गरेको छ । 

अपहरणमा परेको व्यक्तिसंग कसरी सहज रुपमा फोनको पहुँच भयो भन्नेमा प्रहरीले आशंका गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले पहिलो पटक सो घटनाबारे बिहीबार पत्रकार सम्मेलन गरी भण्डारीको हत्याका विषयमा भइरहेको अनुसन्धानका बारे जानकारी दिएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले अपहरणका विषयमा देखिएको दुई कुराले अनुसन्धान जटिल बनेको बताए । अपहरणमा परेको भनिएको अघिल्लो दिन राति सुजिता, उनकी दिदी कविता र भाइ एउटै बेडमा सुतेका थिए।

कविताले प्रहरीलाई बताएअनुसार भोलिपल्ट बिहान असार ११ गते कसैलाई केही नभनी सुजिता घरबाट हिँडेकी थिइन् । एसपी अधिकारीका अनुसार सुजिताले आफ्नी दिदी कवितालाई असार ११ गते दिउँसो ७ पटकसम्म फोन गरेको तर फोन चार्जमा भएको हुँदा नउठेको देखिन्छ।

मिसकल आएको थाहा पाएपछि कविताले बहिनी सुजितालाई फोन गर्छिन् । सुजिताले फोन उठाएर आँखामा कालोपट्टि बाँधेका तीन जनाले आफूलाई अपहरणमा गरेको र बचाउन आह्वान गर्छिन्। त्यसपछि पनि सुजिताकै फोनबाट डाटा प्याक लिएको अनुसन्धानबाट देखिन्छ ।

‘यसले गर्दा अनुसन्धानमा अलिकति जटिलता थपिएको छ’, एसपी अधिकारी भन्छन्, ‘अपहरण केका लागि भन्ने पनि केही कुरा नआएको अवस्था। अपहरण भएपछि केका लागि भन्ने कुरा केही दिनमै थाहा हुन्छ।

अर्को जुन वार्तालाप भएको छ। अपहरणमा परेको मान्छेले सहज रुपमा फोन गर्न सक्ने र रिप्लाई गर्न सक्ने अवस्था हुन्छ कि हुँदैन भन्ने भएकाले अर्को कुनै प्रमाणित नहुँदासम्म चाँहि हामी पीडित पक्षले दिएकै सूचनालाई आधार मान्छौँ।’

अपहरणबाहेक अरू नै केही कारण भएको भन्नेतर्फ पनि अनुसन्धान गर्नुपर्छ भन्ने लागेको उनले बताए । असार २० गते ब्रम्हस्थानी सामुदायिक वनको झाडीको सुजिताको शव फेला परेको थियो। भण्डारीको शवको पोष्टमार्टम भइसकेर विधि विज्ञान प्रयोगशाला खुमलटारमा भिसेरा परीक्षण हुँदै छ ।

भिसेराको रिपोर्ट आएपछि मात्रै हत्याको विषयमा थप कुरा भन्न सकिने प्रहरीले बताएको छ ।
सुजिता भण्डारीको हत्याका विषयमा स्थानीय र अभियान्ताहरुले अवरोध गरिरहेको बताए । दुई दिनसम्म प्रहरी कफ्र्यू व्यवस्थापनमै खटिनुपर्दा अनुसन्धान प्रभावित भएको उनले बताए ।

न्याय प्राप्तिका लागि जुन किसिमले प्रकृया अगाडि बढाउनुपर्ने हो त्यसलाई सहज रुपमा अगाडि बढाउन नसकिएको उनले बताए । अवरोधले गर्दा अनुसन्धानमा ढिलाइ हुने सम्भावना रहेको उनी बताउँछन ्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार