सोमवार, कार्तिक १० गते २०८३
बाढी पहिरो

तनहुँमा बाढी पहिरोका कारण एकको मृत्यु, २ जना वेपत्ता   

बिहिवार , आषाढ २४, २०७८

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–७ डढीवनमा पहिराले पुरिएर एक महिलाको मृत्यु भएको छ ।     
     
अविरल वर्षासँगै आएको पहिराले पुरिएर आज बिहान अन्दाजी ५२ वर्षीया देवीसरा थापाको  महिलाको मृत्यु भएको हो । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरेको वडा सदस्य याम सारु मगरले जानकारी दिए । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भए ।     
     
उनका अनुसार मृतकको शव निकाल्न सकिएको छैन । पहिराले पुरिएर आज नै ऋषिङ गाउँपालिका–८ स्थित माझकोटका करीब ४० वर्षीय खुमबहादुर थापा बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी छ ।     
     
पहिराले डढीवनमा तीन घर क्षतिग्रस्त भएको र थुप्रै घर जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाका सभापति ईन्द्र आलेले जानकारी दिए। उनका अनुसार ऋषिङ–५ राम्जाकोटमा एक घर क्षतिग्रस्त र दुई घर जोखिममा परेको भने ऋषिङ–६ मा दुई घर र केही गोठ जोखिममा छन् ।     
     
त्यस्तै ऋषिङ–४ का वडा सदस्य टोलनाथ थापाको घर र पद्मयोति विद्यालय भवन जोखिममा परेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले वर्षासँगै आएको पहिराले गाउँपालिकाभित्रका थुप्रै ठाउँमा पहिरा गएका छन् भने बाटो अवरुद्ध भएका छन् ।     
     
तनहुँको म्याग्दे गाउँपालिका–४ मा खोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् । सोही ठाउँका अन्दाजी ४० वर्षीय मैत नेपाली खोलाले बगाएर बेपत्ता भएका छन् ।     
     
म्याग्दे खोला तर्ने क्रममा नेपालीलाई बगाएको स्थानीयवासी नुत्त भुजेलले जानकारी दिए । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बढेको खोलाले बगाएका नेपालीको खोजीकार्य जारी रहेको जनाइएको छ । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार