शुक्रवार, कार्तिक ७ गते २०८३

महिलाले गरिन् प्रेमीसँग मिलेर पतिको हत्या, आफ्नै हत्याका लागी लिएका थिए ऋण

मंगलवार , आश्विन ५, २०७८

काठमाडौं। सिराहाकी एक महिलाले प्रेमीसंग मिलेर पतिको हत्या गरेको खुलासा भएको भएको छ। सिराहाको गोलबजार नगरपालिका–४ निपनिया कुटी टोल निवासी ३९ वर्षीय दुखरन महरालाई श्रीमतीले प्रेमीसंग मिलेर हत्या गरेको प्रहरीले खुलासा गरेको हो।

दुखरनकी श्रीमती हरीहरदेवीले प्रेमी भारतिय नागरिक मुकेश यादभसंग मिलेर पतिको हत्या गरेको प्रहरीले जनाएको छ। भारतको विहार जयनगरस्थित वरही गाउँको नहरमा भदौ १८ मा एक घाँटी काटेर हत्या गरेको अवस्थामा भारतीय प्रहरीले दुखरनको शव फेला पारेको थियो।

नहरमा मृत फेला परेका व्यक्तिको गोजीमा सानो डायरी थियो। डायरीमा नोट गरिएको फोन नम्बरका आधारमा उनको परिचय खुलेको थियो। भारतीय प्रहरीको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिराहाले हत्याबारे अनुसन्धान थालेको थियो। उनको पोष्टमार्टम भने भारतमै गरियो। घटनाको अनुसन्धान हुँदै जाँदा भारतीय प्रेमीसँग मिलेर आफ्नै पत्नीले दुखरनको हत्या गराएको प्रहरीले पत्ता लगाएको हो।

दुखरन महरा मोची १० वर्ष पहिले वैदेशिक रोजगारीका लागि कतार गएका थिए। कतारबाट फर्केपछि गोलबजारस्थित घरमा फर्निचर र किराना पसल खोलेर उनले जीवन चलाइरहेका थिए। विदेशबाट पठाएको रकमबारे उनीहरुबीच बेलाबखत झगडा भइरहन्थ्यो। रीसको झोंकमा दुखरनले किराना पसलका समान फालिदिन्थे।

एकचोटि उनले पसलमा आगो लगाउन खोजेपछि हरिहरदेवीले आत्महत्याको प्रयाससमेत गरेकी थिइन्। तर, बच्चाको भविश्य सम्झेर सम्हालिइन्। प्रहरीका अनुसार यही घरायसी विवादकै क्रममा उनले पतिलाई मार्ने योजना बनाएको प्रहरीले जनाएको छ।

दुई वर्षअघि हरिहरदेवी पाठेघरको अप्रेशन गर्न भारतको जयनगरस्थित अस्पतालमा गएकी थिइन्। त्यहीबेला एम्बुलेन्स चालक मुकेश यादवसँग उनको चिनजान भएको थियो। भारतीय नागरिकसँगको सो चिनजान बिस्तारै ‘प्रेम’मा परिणत भयो। प्रहरीको भनाइ अनुसार भदौको दोस्रो साता हरिहरदेवीले मुकेशलाई फोन गरेर श्रीमानले धेरै दु:ख दिएको भन्दै मार्ने योजना बनाएको सुनाइन्।

श्रीमानकै हत्या गर्न उनले घर खर्च चलाउने बहानामा लघुवृतबाट रिन लिएको पनि खुलेको छ। श्रीमानसँगकै सल्लाहमा उनले भदौ १७ मा गोलबजारस्थित छिमेक लघुवित्तबाट ६० हजार ऋण निकाल्न निकालेकी थिइन्। त्यसलगत्तै उनले आफुलाई सञ्चो भएन भन्दै जयनगर गएर उपचार गर्न श्रीमानलाई आग्रह गरिन्।

श्रीमानलाई उतै मार्ने योजना बनाएकी उनले श्रीमानलाई फकाएर भारत लिएर हिँडिन् र सिराहाको माडरमा पुगेपछि प्रेमीलाई सुटुक्क फोन गरेर आफुहरु भारत आउन लागेको खबर गरेर हत्याका लागी आवश्यक रकम समेत पतिको खल्तीमा रहेको जानकारी गराइन्।

भदौ १७ मा साँझ ६ बजे उनीहरु जयनगर रेलवे स्टेशनमा पुगे। चिया पसलमा प्रेमी मुकेश यादव आए। सँगै बसेर चिया खाएपछि दुखरनलाई ‘नास्ता गर्न जाउँ’ भनेर मुकेशले बुलेट मोटरसाइकलमा चढाएर लगे। मुकेश मधुवनी जिल्लाका स्थानीय हुन्।

मुकेशले वरही गाउँस्थित नहरमा लगेर अरु दुईजनालाई बोलाएर दुखरनको हत्या गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ। हत्यापछि उनको गोजीमा रहेको ६० हजार रुपैयाँ मुकेशले लगेका थिए। मुकेशलाई अहिले भारतीय प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको डीएसपी सुवास बुढाथोकीले जानकारी दिएका छन्।

हत्यामा संलग्न अरु दुईजना भारतीय नागरिकहरु भने फरार छन्। श्रीमानको हत्या भएको रात हरिहरदेवी भारतमै बसिन् र भोलिपल्ट जयनगरबाट आफ्नो घर गोलबजार फर्केको प्रहरीको भनाइ छ। सिराहा गोलबजार नगरपालिका–४ निपनिया कुटी टोल बस्ने दुखरनकी पत्नी हरिहरदेवी महरा (३८ वर्ष) ले शुरुमा आफ्नो पतिको हत्याबारे अनभिज्ञता देखाइन्। उनले प्रहरीसँग भनिन्, ‘ऋण निकालेर मोटरसाइकल किन्न जानुभएको थियो, म म्याजिक चढेर पछिपछि गएँ, जयनगर रेलवे स्टेशनमा गएर खोजेँ तर, भेटिनँ।’
भदौ १७ मा दुखरन पत्नी हरिहरदेवीसँगै भारततर्फ लागेको सुराक पाएपछि सोही आधारमा प्रहरीले हरिहरदेवीमाथि अनुसन्धान केन्द्रित गरेको थियो। हत्यामा पत्नीको पनि संलग्नता देखिएपछि हरिहरदेवीलाई पक्राउ गरी हिरासतमा राखेको छ। उनिहरुको ४ सन्तान छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार