काठमाडौं । उपचार खर्च तिर्न नसक्दा जनकपुरधामस्थित एक अस्पतालमा जुम्ल्याहा शिशुसहित एक सुत्केरी ४ दिनदेखी अस्पतालमा बन्धक बनेकी छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन जनकपुरस्थित आर्या केयर अस्पतालमा चार दिनदेखि बन्धक छन् । सुत्केरी व्यथा लागेपछि असार १७ मा बेगम अस्पताल भर्ना भएकी थिइन् ।
शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा शिशु जन्म दिएकी उनलाई अस्पतालले असार २१ मा डिस्चार्ज गरेको थियो । तर, अस्पताललाई उपचार खर्च बापत एक लाख १० हजार रुपैयाँ तिर्न नसक्दा उनी घर जान पाएकी छैनन् ।
बेगम अहिले अस्पतालको जनरल वार्डमा रहेको उनका ३१ वर्षीय श्रीमान मोहम्मद समीर नदाफले बताए । मोहम्मदले आफन्त र गाउँमा अस्पताललाई तिर्नु पर्ने पैसा खोजे पनि नपुगेको बताए ।
लकडाउनको कारण देखाएर ऋण नपाउँदा डिस्चार्ज गरे पनि श्रीमती र आफ्ना छोराछोरीलाई अस्पतालबाट लान नपाएको उनले बताए ।