काठमाडौं। पासो लगाएको डोरी महंगोमा विक्री हुन्छ भन्दै महिलाको हत्या गरिएको छ। ललितपुरमा एक युवती सहित ३ जनाले ४५ वर्षिय महिलाको घाँटीमा डोरी कसेर हत्या गरेका हुन्। उनिहरुलाई प्रहरीले पक्राउ गरेको छ।
गत भदौ २५ गते नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भइ ललितपुर महानगरपालिका-२७ बस्ने ४५ वर्षीया कमला तामाङको घाँटीमा डोरी कसेर हत्या गर्ने एक युवतीसहित तीन जनालाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत चापागाउँको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका-८ मंगलबारे घर भई ललितपुर महानगरपालिका-२८, हरिसिद्धि बस्ने २० वर्षीय सुमन मगर, मकवानपुर, रक्सिराङ गाउँपालिका-५, प्याङचे टोल घर भई हरिसिद्धि, नयाँ बस्ती २३ वर्षीय सविन प्रजा र उनको श्रीमती १८ वर्षीय प्रविना प्रजा माझी छन्।
अनुसन्धानका क्रममा घटनामा संलग्न सविन र सुमनले मानिस पासो लगाएर मरेको डोरी करोडौं रुपैयाँमा बिक्री हुने भन्ने कुरा सुनेर त्यस्तो डोरीबाट पैसा कमाउने उद्देश्यले महिलाको हत्या गरेको खुलेको महाशाखाले जनाएको छ।
प्रहरीका अनुसार हत्या गरिएकी महिला सुमन मगरको चिनजान एवं अवैध सम्बन्ध हुने गरेकी टहरामा एक्लै बस्ने महिला हुन्। उनीहरूले भदौ २४ गते साँझ मृतकको टहरामा गई मादक पदार्थ सेवन गरी सुत्ने क्रममा मृतकको हात बाँधेर घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ।
हत्या पश्चात मृतकको कानमा लगाएको गहना र मोबाइलसमेत लुटी उनिहरु फरार रहेका थिए।महाशाखाका अनुसार सुरुमा सुमनलाई असोज २१ गते पक्राउ गरिएको थियो। उनकै बयानका आधारमा सविनका श्रीमान श्रीमती पक्राउ परेका हुन्।