काठमाडौं। इलाममा एक व्यक्तिले आफु झाँक्री भएको र रोग निको पार्ने भन्दै आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन्। देउमाई–५ बारुङका ३३ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता र छोरी १६ वर्षीया शिक्षाको हत्या गरेको प्रहरीले जनाएको छ।
आफू धामी भएको भन्दै चिन्ता बस्ने क्रममा कमलले पत्नी र छोरीको टोकेर हत्या गरेको प्रहरीले जनाएको छ। सुरुमा रोग निको पार्ने भन्दै पहिला श्रीमतीलाई जथाभावी टोकेपछि मृत्यु भएको र पछि छोरीलाई समेत टोकेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए।
छोरी र श्रीमतीको हत्याको बारेमा गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। कमललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको एसपी श्रेष्ठले जानकारी दिए।