काठमाडौं। बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नयाँ सरकार गठन गर्न आव्हान गरिएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागी दलहरूलाई आह्वान गरेका हुन्।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरे। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनममा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि आह्वान गरेका हुन्।
मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि शर्माले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन्। मुख्यमन्त्रीको राजीनापछि नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले तयारी तीव्र पारेको छ। विपक्षी गठबन्धनले बहुमत पुर्याएर प्रदेश प्रमुखकोमा जाने तयारी गरेको छ।
मुख्यमन्त्री शाक्यले राजीनामा दिएपछि गठबन्धनबाट मुख्यमन्त्रीमा प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भोलि गठबन्धनले ४ सदस्यीय सरकार गठन गर्ने बताए।
बिहीबार गठबन्धनले नयाँ सरकार गठन गर्ने बताए। उनले आफ्नो नेतृत्वमा बागमती प्रदेशमा बिहीबार गठबन्धनको ४ सदस्यीय मन्त्रिमण्डलले शपथग्रहण गर्ने जानकारी दिए।