काठमाडौं। बागमती प्रदेशमा मन्त्रालयको भागबण्डा पुर्याउन मन्त्रालय फुटाउने तयारी गरेका छन्। नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशमा रहेका मन्त्रालय फुटाएर भागबण्डा मिलाउने भएका हुन्।
बिहीबार मुख्यमन्त्री बनेका पाण्डेले हाल प्रदेशमा रहेका ८ वटा मन्त्रालय फुटाई १३ वटासम्म बनाएर गठबन्धनमा भाग पुर्याउने तयारी गरेका हुन्। तत्कालका लागि नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्रीसहित २, कांग्रेस र माओवादीबाट १/१ जना मन्त्री बनेका छन्।
पाण्डेले मुख्यमन्त्री भएपछि पहिलोपटक तिहारअघि संसद् बोलाउने र तिहारपछि विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको स्रोतले बताएको छ।
स्रोतका अनुसार गठबन्धनमा सहभागी दलहरूमा हाल प्रदेशमा रहेका ८ वटा मन्त्रालयले मात्रै भागबण्डा नपुग्ने भएपछि मन्त्रालय विभाजन गरेर भागबण्डा लगाउने तयारी गरिएको हो।