काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्। उनीहरु सर्वोच्च अदालत परिसरको एक छेउँमा ब्यानर बोकेर उभिएका छन्। नेपाल बार एशोसिएसनको अगुवाइमा गरिएको प्रदर्शनमा कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगाना लगायत छन्।
प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वोच्च अदालत भित्र र बाहिर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। प्रहरीका गाडी पनि तयारी अवस्थामा राखिएको छ। सर्वोच्च अदालतका कर्मचारीहरुलाई मुख्य गेटमा परिचय पत्र देखाएरमात्र प्रवेश गर्न दिइएको छ। कर्मचारी बाहेकलाई प्रवेश गर्न दिइएको छैन।
बार एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम आयोजना गरेको छ। विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने एशोसिएसनले जनाएको छ।
प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार नेपाल बारले १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ। १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ।
यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो। प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले सर्वोच्च अदालतमा बहस पैरवी बन्द गरेको छ।