काठमाडौं। नेपाली सेनाको सैनिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक विद्यार्थी करिब दुई महिनादेखि बेपत्ता भएका छन्। दैलेखको गुराँस गाउँपालिका २ घर भएका २४ वर्षीय राजेश शाही भदौ १७ गतेदेखि बेपत्ता छन्।
काठमाडौंको सानो भर्याङस्थित प्रतिष्ठानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी शाही भदौ १६ गते देखी परिवारको सम्पर्कमा छैनन्। भदौ १६ गते बेलुका उनको आमासँग एक घण्टा भिडियो कलमार्फत कुराकानी गरेको परिवारले जनाएको छ।
उनि बेपत्ता भएको परिवारले पाँच दिनपछि मात्रै थाहा पाएको राजेशका दाइ पदम मल्लले जानकारी दिए।
आमासंग आफू चाँडै डाक्टर बन्ने खुशीको कुरा सुनाएका छोरा बेपत्ता भएपछि राजेशका आमा अहिले बेहोस छन्। राजेशका बुबा दानबहादुर छोराको खोजीमा छन्। उनको बुवाले प्रधानसेनापतिलाई समेत छोरा कलेजबाट नै बेपत्ता भएको भन्दै जाहेरी दिइसकेका र प्रहरीलाई समेत उजुरी गरेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंमा यसबारे उजुरी छ। प्रहरीले खोजी जारी राखेको बताएको छ। तर, परिवारले भने प्रहरीले पनि सैनिक कलेजभित्र गम्भीर रुपमा अनुसन्धान गर्न नसकेको र सेनाले जे भन्छ सोही अनुसारको मिसिल तयार पारेको आरोप लगाएको छ।
दाई पदमले भाइ हराएको ५ दिनपछि मात्र आफूहरुलाई जानकारी दिएकाले घटना शंकास्पद रहेको जनाए। साथै प्रतिष्ठानले समेत हाल विद्यार्थीको आचरण गलत देखाई आफुहरु उम्किन खोजेको भन्दै आफुहरु अन्याएमा परेको गुनासो गरे।