काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ । आइतबार बसेको आयोगको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको वैधानिकता सम्वन्धि दर्ता भएका निवेदन र दाबी दुवैलाई खारेज गरी वैधानिक रहेको ठहर गरेको हो ।
नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलगायतका नेताहरूले अध्यक्ष प्रचण्ड नेतृत्वको माओवादी केन्द्र अवैधानिक रहेको भन्दै उजुरी दर्ता गरेका थिए ।
त्यसैगरी, अर्का निवेदक भविसोर पराजुलीले असार २५ गते माओवादी केन्द्रको लेटरप्याड प्रयोग गरेर निर्वाचन आयोगमा दिएको अर्को निवदेन पनि आयोगले खारेज गरिदिएको छ । त्यसरी अन्य दलको लेटरप्याडको दुरुपयोग नगर्न आयोगले भविसोर पराजुलीलाई सचेत गराउने निर्णयसमेत गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु सगुनसमशेर जबरा, जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त बैठकले आइतबार प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको हो ।