काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार बचत गर्ने कार्यक्रम ल्याएको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि यस्तो कार्यक्रम ल्याएको हो ।ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए ।
उनले परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले रु १५ हजार बचत गर्ने र शिशुको परिवारलाई पनि अनिवार्य रुपमा कम्तीमा रु पाँच हजार वा त्योभन्दा बढी रकम जम्मा गर्न लगाइने छ ।
उक्त रकम २० वर्षका लागि बचत गरिने र छोरी २० वर्ष पुग्दा उच्च शिक्षाका लागि प्रयोग गर्न सकिने उद्देश्यले यो कार्यक्रम अघि सारिएको अध्यक्ष थापाले बताए।
उक्त रकम पाउन गाउँपालिकाले गर्भवतीले नियमित स्वास्थ्य संस्थामा जाँच गरे नगरेको रिपोर्ट कार्ड अनिवार्य समेत गराएको छ । त्यसले गर्दा गर्भावस्थामा जाँच गर्नेको सङ्ख्यामा वृद्धि हुने गाउँपालिकाको अपेक्षा छ ।
गर्भवतीले अनिवार्य बर्थिङ सेन्टरमा शिशु जन्माउनुपर्ने छ । कार्यक्रममार्फत शिशु जन्मेको ३५ दिनमा नै जन्मदर्ता गराइसक्नुपर्ने व्यवस्था रहेकाले जन्म दर्ता पनि समयमा नै हुने अध्यक्ष थापाले बताए।