काठमाडौं। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसम्बन्धी छानबिन समितिले प्रतिवेदन बुझाउँदै उपकुलपतिसहितका पदाधिकारी हटाउन सिफारिस गरेको छ।
प्रतिवेदनमा वहालवाला उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्राध्यापक डा गुरु खनाल र अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहलाई बर्खास्त गर्न सिफारिस गरेको छ।
छानबिन समितिले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउँदै बर्खास्त गर्न सिफारिस गरेको हो। तीन महिना अघि नै राजीनामा दिइसकेका रजिष्ट्रार प्राध्यापक डा मोहनचन्द्र रेग्मीको पालामा भएका खरिदलगायतमा पनि थप छानबिन गरी कारबाही गर्न सिफारिस गरिएको छ।
छानबिन समितिका संयोजक सहकुलपति एवं स्वास्थ्यमन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव डा.रोशन पोख्रेल र सिनेट सदस्य समेत रहेका धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रधानमन्त्री देउवालाई शुक्रबार प्रतिवेदन बुझाएका हुन्।
तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले डा गिरीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेपछि विवाद सतहमा आएको थियो।