काठमाडौं। बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद गर्ने र कुलेखानी-हेटौंडा सुरुङमार्ग बनाउने योजना स्थगित गरेको छ। डोरमणि पौडेल नेतृत्वको सरकारले विद्युतीय बस खरिद गर्न भनेर ३० करोड रुपैयाँ रकम छुट्याएको थियो।
तर सडक पूर्वाधार पनि नभएको र चार्जिङ स्टेशन पनि नबनेकाले हाललाई विद्युतीय बस खरिदको योजना स्थगित गर्नुपरेको मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए। मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो पार्टी एकीकृत समाजवादीको केन्द्रीय बैठकलाई दिएको जानकारीअनुसार विद्युतीय बस खरिद गर्नेको योजना हाललाई स्थगित गरिएको छ।
यस्तै कुलेखानी-हेटौंडा सुरुङमार्गलाई अघिल्लो सरकारले ५० करोड रुपैयाँ बजेट छुट्याएको थियो। तर यो आयोजनामा सरकारले १८ अर्ब रुपैयाँ लागत अनुमान गरेको भएपनि ३० अर्ब लाग्ने देखिएको र केन्द्र सरकारले रकम दिने सुनिश्चितता पनि नभएकाले यो योजना पनि हाललाई स्थगित गरेको पाण्डेले बताए।