काठमाडौं। दुई सातादेखि आन्दोलनरत कानून व्यवसायीहरूले आज सर्वोच्च अदालतमा धर्ना सुरु गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित कानून व्यवसायीहरूले धर्ना दिन पुगेका हुन्।
गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए। शुक्रबार गेटबाहिर धर्नामा बसेका कानुन व्यवसायीहरुले आज भने सर्वोच्च अदालत परिसर भित्रैबाट मूल गेटमा धर्ना दिएका छन्।
उनीहरु अहिले सर्वोच्च अदालत परिसर भित्रैबाट मूल गेटमा धर्नामा बसेका हुन्। आज भने उनीहरू सुरक्षाकर्मीको घेरा तोडेर सर्वोच्च परिसरमै पुगको छन। शुक्रबार गेटमा कानून व्यवसायीहरूले धर्ना दिएपछि प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए। प्रधानन्यायाधीश आउजाउ गर्ने एक नम्बर गेटमा जान भने प्रहरीले दिएको छैन।
आज वैकल्पिक गेटमा पनि धर्ना दिने कानून व्यवसायीहरूले बताएका छन्। सर्वोच्चमा अहिले कडा सुरक्षा दिइएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन्। मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ।
सर्वोच्च अदालतका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने पक्षमा छन्। जबराको विरोधमा रहेका न्यायाधीशहरू उनले तोकेको इजलासमा पनि बसेका छैनन्।