काठमाडौं। मुस्ताङको थासाङ गाउँपालिका–२ को जंगलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन्। कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन्। हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिए।
‘भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्कनुभएको छ,’ उनले भने, ‘भीम शेरचन र सकेन्द्र गौचनका ६५र६५ वटा याक चौँरीमध्ये १०र१२ वटा मात्र भेटिएका छन्।’
हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन्। १३० याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०र१२ मात्र देखिएको र बेपत्ता चौँरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
हिमपहिरोले जंगलमा रुख ढलाएको छ। वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ। हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो। बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो।
नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ। घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ। जंगलमा चर्न गएका गाई, भैँसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हीराचनले बताए। उवा र फापरबालीमा क्षति पुगेको छ।