काठमाडौं। आफ्नो राजीनामा मागी आन्दोलनरत कानुन व्यवसायीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ताका लागि आह्वान गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गरी जबराले प्रदर्शनमा उत्रिएका नेपाल बार एशोसियसनका पदाधिकारी र कानुन व्यवसायीलाई विग्रहको बाटो छोडेर संवादको मार्ग रोज्न आह्वान गरेका हुन्।
सरकार विस्तारमा भाग खोजेको र न्यायालय सुधारमा चासो नदिएको भन्दै कानुन व्यवसायीहरु अहिले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा छन्। उनले आफूमाथि एकपक्षीय ढंगले निरन्तर रुपमा तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको भन्दै दु:ख व्यक्त समेत गरेका छन्।
विज्ञप्तिमा प्रधानन्यायाधीश जबराले न्यायपालिका सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएका सुझावहरु कार्यान्वयन गर्नका लागि आफू तयार रहेको पनि उल्लेख गरेका छन्।
