काठमाडौं। दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको भारतको राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान गर्ने भएको छ। नेपालको राष्ट्रिय मानवअधिकार आयोगले गरेको पत्राचारको जवाफ दिँदै भारतीय आयोगले औपचारिकरुपमै उजुरी दर्ता गरेर अनुसन्धान गर्ने जवाफ दिएको हो।
नेपालको आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार गत सेप्टेम्बर १० मा नेपालको आयोगले भारतीय आयोगलाई सहयोग माग्दै पत्राचार गरेको थियो। गत साउन २५ गते सदरमुकाम खलंगा आउने क्रममा महाकाली नदी पार गर्न लाग्दा धामी चढेको तुइनलाई भारतीय सीमा सशष्त्र प्रहरी बल (एसएसबी)ले खुस्काइदिँदा उनी महाकालीमा खसेर बेपत्ता भएका थिए।
यसबारे परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट लेखेर पठाएपनि अहिलेसम्म कुनै जवाफ आएको छैन। नागरिक समाज र मिडियाबाट व्यापक आलोचना भएपछि सरकारले नोट लेखेको थियो। घटनाको तेस्रो दिन साउन १७ मा गृह मन्त्रालयद्वारा गठित छानविन समितिले घटनास्थलको अध्ययन गरेपछि गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा एसएसबीलाई दोषी देखाइएको थियो।
एसएसबीको उपस्थिती र संलग्नतामा घटना भएको भन्दै समितिले दोषीलाई कार्वाही र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन समेत सिफारिस गरेको थियो। तर भारतिय पक्षले भने घटनामा संलग्नता बारे अश्विकार गरेको छ।