काठमाडौं। मुगु सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ। आगलागीमा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएका छन्। आगो नियन्त्रणमा लिने क्रममा एउटा कच्ची घर भत्काइएको छ। गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको थियो।
सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए। गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो। आगो निभाउने क्रममा गोरख मल्लको एउटा कच्ची घर भत्काइएको छ।
आगलागीमा मानवीय क्षति भएको छैन। धनमाल कति क्षति भयो भन्नेबारे पनि एकिन विवरण आइनसकेको डिएसपी भट्टराईले बताए। आगलागीमा मानवीय क्षति भने भएको छैन।