काठमाडौं । मृत्यु भइसकेका मानिसहरुको नाममा किर्ते गरी सामाजिक सुरक्षा भत्तावाफतको रकम हिनामिना गरेको घटना सार्वजनिक भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो अभियोगमा दुई सचिवविरुद्ध मुद्दा दायर गरेको छ । जाजरकोटको साविक लहँ गाविसका सचिव दोर्ण प्रसाद पौडेल र दिपक सुनारविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पौडेलले विभिन्न आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गर्दा झुठा कागज तयार गरी पाँच लाख ९३ हजार दुई सय रुपैयाँ हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ ।
त्यस्तै सोही गाविसका तत्कालिन सचिव सचिव सुनारले पनि चार लाख ४० हजार चार सय हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ ।
उनिहरु दुबै जनाले सामाजिक सुरक्षा भत्तावाफतको रकम सम्बन्धित व्यक्तिलाई नबुझाई किर्ते हस्ताक्षर ल्याप्चे गरेको तथा मृत्यु भइसकेका कतिपय व्यक्तिको नामको भत्ता हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।
दुवै जनाबाट बिगो रकम असुल गर्न मागदाबी गरिएको अख्तियारले जनाएको छ ।