काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको सर्वोच्चको फैसलापछि प्दर्शनमा उत्रिएका प्रधानमन्त्री ओली समर्थकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।
आदेश आएलगत्तै पनि एमाले कार्यकर्ताले जबराको पुत्ला जलाउने प्रयास गरेका थिए । तर प्रहरीले रोकेको थियो । साँझ बानेश्वरमा भेला भएका कार्यकर्ताले फेरि पुत्ला जलाएका हुन् ।
यसैविच सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरिदिएपछि चितवनमा पनि सर्वोच्च अदालतविरुद्ध एमाले अध्यक्ष ओलीका कार्यकर्ताले प्रदर्शन गरेका छन्।
नेकपा एमालेनिकट अनेरास्ववियु र युवा संघका नेता कार्यकर्ताले आज भरतपुरको चौबिस कोठीमा प्रधानन्यायाधीशको पुत्ला जलाएका छन् ।
सर्वोच्च अदालतले संसद विघटन बदर गरेर निर्दलीय व्यवस्थाको बिजारोपण गरेको भन्दै एमाले कार्यकर्ताले पुत्ला जलाएका हुन् ।