काठमाडौं। संसदको अवरोध हटाउने तथा अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्ने सम्बन्धमा साझा धारणा बनाउन बसेको सर्वदलीय बैठक बिना निश्कर्ष सकिएको छ । सत्ता गठबन्धनभित्र दलहरु नै एमसीसी पारितका विषयमा फरक धारणा राखेपछि सहमति जुट्न नसकेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनु भएको सर्वदलीय बैठकमा सहभागी दलहरुले एमसीसीबारे उत्पन्न संशयबारे स्पष्ट नभई संसदबाट अनुमोदन गर्न नसकिने बताएका छन् । प्रमुख प्रतिपक्षी एमालेले बहिस्कार गरेको सर्वदलीय बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपालगायतले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने भन्दै विपक्षमा मत राखेका थिए । बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन प्रस्ताव गर्नु भएको थियो ।
बैठकपछि नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की र कांग्रेस नेताहरु रामचन्द्र पौडेल तथा रामशरण महतले एमसीसी पास गर्नुपर्ने बताउनुभएको तर माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एसका महासचिव बेदुराम भुसालले तत्काल यसलाई अघि बढाउन नहुने धारणा राखेको जानकारी दिनुभयो ।
सुवालले एमसीसी विष जस्तै भएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने आफूहरुको धारणा रहेको बताउनुभयो । उहाँले प्रतिपक्षीले अवरोध गरेका बेला संसदको कार्यसूची अघि बढाउन नहुने धारणा राखेको जानकारी दिनुभयो ।