काठमाडौं । अदालतको फरार सुचीमा रहेका नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदार आज अदालतमा उपस्थित भई धरौटीमा रिहा भएका छन् ।
अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश उल्लंघन गर्दै आएका गच्छदार आफ्नो पार्टी कांग्रेस नेतृत्वको सरकार गठन भएसँगै आज बिहान मात्र अदालतमा पुगेका थिए । उनि १० लाख धरौटी बुझाएर बिशेष अदालतबाट रिहा भए ।
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो । मुद्दाको म्याद बुझ्न पटक पटक अस्विकार गर्दै आएका गच्छदार अदालतको फरार सूचीमा थिए ।
आज अदालतमा पुगेका गच्छदारलाई बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाइको विशेष अदालतका सह–रजिष्टार तथा प्रवक्ता विश्वराज पाण्डेयले जानकारी दिए । अदालतले गच्छदारको निवासमा पटकपटक म्याद तामेली टाँस गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदार विरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।