सोमवार, कार्तिक १० गते २०८३

वैदेशिक रोजगारीमा जानेलाई जोन्सनको खोप दिन आग्रह

बुधवार , आषाढ ३०, २०७८

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई कोभिड विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिनको लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई अनुरोध गरेको छ ।

श्रमले खोप प्राप्त गर्न नसक्दा रोजगारीको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै सिसिएमसीलाई जोन्सन खोप उपलब्ध गराउन आग्रह गरेको हो । प्रमुख गन्तव्य देशहरुले जोन्सनलाई मान्यता दिएको छ ।

नेपाली कामदारका प्रमुख गन्तव्य देशहरुले खोपको प्रबन्ध भएका देशबाट मात्रै कामदार लैजाने नीति लिएको छ । दुवै मात्राको खोप नभएपछि नयाँ र बिदामा आएका नेपाली कामदार समेत रोजगारीमा जान पाएका छैनन् ।

चालू आर्थिक वर्षमा एकलाख ५९ हजारले श्रम स्वीकृति पाएका छन् । जसमध्ये धेरै कामदार खोप नपाएर गन्तव्य देशमा जान रोकिएका छन् ।

नेपालीको आकर्षक गन्तव्य मानिएको दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपाली कामदारलाई जान रोकेको छ । साउदी अरब, कतार, बहराइन र ओमानले भने सर्तसहित क्वारेन्टाइनमा १० दिन बस्ने गरी कामदार लगिरहेको छ ।

गत वर्षको फागुन २१ देखि कोरियामा कामदार पठाउने प्रक्रिया स्थगित छ । कोरियाले नेपाललाई कोरोनाको अति संवेदशनील मुलुकको सूचीबाट हटाएको छैन । यूएईले वैशाख २३ देखि नेपालबाट कामदारसहितको यात्रुलाई प्रवेश निषेध गरेको छ । 

कोरोनाको ठूलो मारमा परेको भारतलाई खुल्ला गरेपनि नेपालबाट कामदार लगेको छैन । यूएईले भने नेपालमा खोप नभएको भन्दै नेपालीको प्रवेशलाई अनुमति दिएको छैन । कुवेतले आउँदो साउन १७ गतेदेखि खोप लगाइसकेको कामदार लग्ने जनाएको छ ।

कुवेतले नेपालमा रोकिएका पहिला नै भिसा भएका कामदारले अनलाइनबाट नविकरण गरी उनीहरु साउन १७ देखि कुवेत जान पाउने जनाएको छ । कुवेतले, साउदी अरब र कतारले जोन्सनको खोपलाई अनुमति दिएको छ ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार