अमेरिकामा नेपाली दूतावासको रकम लुटिएको छ। दूतावासका अनुसार कन्सुलर सेवा शिविरहरूबाट संकलित मनी अर्डर र क्यासिएर चेकहरू गाडी तोडफोड गरी लुटिएको हो।
दूतावासले जारी गरेको विज्ञप्तिअनुसार स्थानीय समय दिउँसो १२:०३ बजे लुटपाट भएको थियो। घटनालगत्तै दूतावासले स्थानीय सुरक्षा निकायहरूमा जानकारी गराएको छ।
सुरक्षाकर्मीको सहयोगमा लुटिएको रकम फिर्ता ल्याउने प्रयास भइरहेको दूतावासले जनाएको छ।
दूतावासले डिसेम्बर १५ देखि २० तारिखसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा कन्सुलर सेवा शिविर सञ्चालन गरेको थियो। जहाँ सेवाग्राहीले दूतावासलाई शुल्कबापत मनी अर्डर र क्यासिएर चेक बुझाएका थिए।
दूतावासका कर्मचारीहरू डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डिसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारीसाधन तोडफोड गरी मनी अर्डर र क्यासिएर चेक लुटिएको हो। तर कति रकम बराबर लुटियाे भन्ने कुरा दूतावासले खुलाएको छैन।