काठमाडौं । कम्पनीले कामबाट निकालेपछि साउदी अरवमा २४ नेपाली कामदार समस्यामा परेका छन् । साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि आफुहरु समस्यामा परेको गुनासो गरेका छन् ।
कम्पनीले कामबाट निकालेपछि रोजगार बिहिन भएका २४ नेपाली अहिले साउदीस्थित जुबेलमा रहेको अर्घाखाँचीको मालारानी स्थायी घर भएका पीडित नेत्र विसीले बताएका छन् ।
उनले कम्पनीले झण्डै ७ महिनाभन्दा बढी वेतलवी बिदा दिएर राखेपछि कामदारले अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दाको फैसला कामदारहरुको पक्षमा आए पनि उनीहरुले पैसा र एक्जिट भिसा नपाएको बताए ।
उनका अनुसार साउदीस्थित नेपाली दूतावासलाई पटक–पटक फोन गरेर जानकारी गराए पनि वास्ता गरिएको छैन । करिव दुई महिनादेखि एउटा कोठामा दिन काट्न बाध्य भएको उनले बताएका छन् ।
नेपाल फर्कन पैसा नभएको, कम्पनीले पैसा नदिएको र साउदीस्थित नेपाली दुतावासले पनि वेवास्ता गरेको उनिहरुको गुनासो छ । बिसीका अनुसार साउदीमा प्रयोग हुने अकमा कार्ड कम्पनीले नवीकरण नगरिदिएपछि उनीहरु जावाज (अदालत) पुगेका थिए ।
अदालतले नवीकरण गर्न र सम्पूर्ण तलब पूर्ती गर्न आदेश दिएपनि कम्पनीले आदेश पालना नगरेको युवाहरुको भनाइ छ ।