काठमाडौं। न्यूनमत साझा कार्यक्रम तयार पार्न बसेको कार्यदलले न्यूनमत साझा कार्यक्रमलाई अन्तिम रुप दिएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको कार्यदलले उक्त कार्यक्रम शनिबार शीर्ष नेताहरु समक्ष पेश गर्ने तयारी गरेको छ ।
सत्ता साझेदार दलहरूले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रतिवेदनमा पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने विषय पनि समावेश गरिएको छ ।
कार्यदल सदस्य रहेका राप्रपा महामन्त्री धवलशम्शेर राणाले पृथ्वी जयन्तीमा बिदा दिने विषय न्यूनतम साझा कार्यक्रममा समेटिएको जानकारी दिएश्र राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने र पुस २७ मा बिदा दिनुपर्ने अडान राखेको छ ।
कार्यदलका अर्का सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले सुशासन र सेवा प्रवाहलाई केन्द्रित गरेर सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने र त्यसले जनतालाई खुसी बनाउने बताए।
मन्त्रिपरिषदबाट गरिने नीतिगत निणर्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट हेर्न, अनुसन्धान गर्न सकिने व्यवस्था मिलाउने विषय पनि मस्यौदामा समेटिएको छ ।
साथै उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४७ सालपछिका उच्च पदस्थ नेता र कर्मचारीका सम्पत्ति छानबिन गर्ने र अवैध सम्पत्ति भेटिए जफत गर्ने पनि मस्यौदामा समेटिएको बताइएको छ ।