काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने गाडी हटाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै अगुवा र पछुवा गाडीको सुरक्षा टोली हटाएका हुन् ।
गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरिक्षक (सई) को नेतृत्वको सुरक्षाकर्मी राखेको बताइएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा उनले शुक्रबार साँझ लेखेका छन्, ‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निणर्य गरेको छु । भै परि आउदाको परिस्थितिलाई अपवाद मानिदिनु होला ।’ उनले भनेका छन,‘सडक लेन अनुशासन पूणर् पालना गर्ने गराउने कुरामा प्रतिवद्ध छु। कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफनो कार्यकाल भरि नै यी नियम पालना गर्छु ।’
साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको आलोचक भएको बताउँदै उनले आकस्मिक अवस्था बाहेक आफूबाट त्यस्तो गतिविधि नहुने समेत बताए । व्यक्तिगत कामका लागि कतै जानु परे वा विदाका दिनमा हिँड्नु परे निजी सवारीसाधन प्रयोग गर्ने उनको भनाइ छ ।
उनले आफूले गर्ने कामहरुलाई बुँदागत रुपमा यसरी लेखेका छन्ः
-उपप्रधानमन्त्री एंव गृहमन्त्रीको नियुक्ति लगत्तै मैले मेरो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरिक्षक (सई)को नेतृत्व सुरक्षाकर्मी राखेको छु ।
-उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा-पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भै परि आउदाको परिस्थितिलाई अपबाद मानिदिनु होला।
-सडक नियमको पुर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागु गराउने निकायको नेतृत्व गर्ने म सधै ट्राफिक वत्तिमा लाईन बसेर नै यात्रा गर्छु र सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिवद्ध छु। कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफनो कार्यकाल भरी नै यी नियम पालना गर्छु।
-साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्ने प्रवृतिको म सधै आलोचक हुँ,आकस्मिक अवस्थामा बाहेक मबाट यस्तो गतिविधि हुँदैन।-व्यक्तिगत कामकालागि कतै जानु परेमा वा विदाका दिनमा म आफ्नै सवारीसाधन प्रयोग गर्छु र यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नु परेमा त्यसको हिसाव राज्यलाई बुझाउने छु।