बुधवार, कार्तिक ५ गते २०८३

सन्दीप विरुद्ध सर्वोच्च जाने तयारीः धरौटीमा छोड्ने आदेश कानुनविपरित भएको दाबी

आइतवार , माघ १५, २०७९

काठमाडौं। नाबालिग बलात्कारको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदरको माग गर्दै महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।

त्यसका लागि महान्यायाधीवक्ता कार्यालयले एक/ दुई दिनमै निवेदन दर्ताको तयारी गरेको हो । महान्यायाधीवक्ताको कार्यालयका सहन्यायाधीवक्ता संजीवराज रेग्मीले लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरेको जानकारी दिए।

लामिछानेलाई धरौटीमा छाड्ने आदेश कानुनविपरित भएको सरकारी वकिलको ठहर छ । उच्च अदालत पाटनले पुस २८  गते लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको थियो । उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको  थियो । लामिछानेलाई विदेश जान रोक लगाइएको छ ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार