काठमाडौं । जनकपुर–जयनगर रेलको गति परीक्षण गरिने भएको छ । रेल संचालन पूर्वको तयारीको शिलशिलामा रेल्वे ट्रयाकको स्पिड टेस्ट र सर्टिफिकेसन गर्ने काम आइतबार हुने भएकोले त्यस रेलको ट्रयाक वरपर पशु चौपाया र बालबच्च नछोड्न आगह्र गरिएको छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी यस्तो आग्रह गरेका हुन् । महाप्रबन्धक भट्टराईका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिने छ । ‘स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किमी प्रतिघन्टा हुने भएकोले रेल्वे ट्रयाकमा सुरक्षा महत्वपूर्ण हुन्छ ।
त्यसैले आइतबार रेल्वे ट्रयाक वरपरका आम नागरिकलाई ट्रयाकमा मान्छे, गाई भैंसी चौपाया, साइकल मोटरसाइकल, बालबच्चा नछोड्न र ट्रयाकबाट दूरी कायम गरिदिन अनुरोध गरिएको सुचनामा जनाइएको छ ।
उनले परीक्षणको क्रममा ट्रयाक तथा स्टेसनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने पनि जानकारी दिएका छन् । परीक्षणको विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा ब्यक्ति स्वयं जिम्मेवार हुने र कानुनअनुसार कारबाहीसमेत गरिने उनले चेतावनी दिएका छन् ।