काठमाडौं। क्रसर डनबाट हत्या गरिएका पर्यावरण अभियन्ता दिलीप महतो (ओमप्रकाश)को मुद्दामा जिल्ला अदालत धनुषाले तीन जनालाई दोषी ठहर गरेको छ । तीन वर्षअघि धनुषाका दिलीप महतोको हत्यामा जिल्ला अदालतले दुई जनालाई २५-२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको हो ।
जिल्ला अदालत, धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आज हत्यामा संलग्न रहेका विपिनकुमार महतो र मुनीन्द्र महतोलाई २५-२५ वर्ष कैद सजाय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार विकास बस्नेतले जानकारी दिनुभयो । दुवै जनालाई पाँच-पाँच लाख रकम पीडित परिवारलाई दिनुपर्नेगरि सजाय पनि तोकिएको छ ।
त्यसैगरि हत्याका मतियार ठहर भएका जितेन्द्र महतोलाई भने १२ वर्ष कैद र साढे २ लाख जरिवाना तोकिएको छ । उनीहरूले अदालतले तोकेको रकम बुझाउन नसकेमा राज्यकोषबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश गरेको छ ।
२०७६ पुस २५ मा खोलाको अवैध उत्खन्न रोक्न गएका धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय महतोको क्रसर डनले हत्या गरेका थिए । दिलीपलाई कोखमा फलामको लिभर प्रहार गरी घाइते बनाएर टिपरले किचेर निर्मम हत्या गरिएको थियो ।