काठमाडौं । सूचना तथा प्रसारण विभागले नवीकरण नगरेकै आधारमा अनलाइन सञ्चारमाध्यम दर्ता खारेजी र सञ्चालनमा रोक नलगाउने भएको छ । विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ को उपदफा (३) बमोजिम विभागले अनलाइन सञ्चारमाध्यमलाई दिँदै आएको सेवामा रोक लगाउन खोजेपछि विभागको सो कदमविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।
सर्वोच्चबाट चैत ३१ गते उक्त व्यवस्था खारेज भएको संक्षिप्त आदेश प्राप्त भएको विभागले जनाएको छ । सो आदेश बमोजिम अब उप्रान्त विगत आर्थिक वर्षमा नवीकरण गर्न छुट भएका अनलाइन सञ्चारमाध्यमको दर्ता विभागमा रहेको दर्ता किताबबाट खारेज नगर्ने र नवीकरण नगरेकै आधारमा अनलाइन सञ्चारमाध्यम सञ्चालनमा रोक नलगाइने विभागले जानकारी दिएको छ ।
तर, यसअघि नवीकरण हुँदै आएका अनलाइन सञ्चारमाध्यमको हकमा भने पूर्ववत रूपमा नवीकरण कार्य जारी रहने र नियमित रूपमा नवीकरण भएको अनलाइन सञ्चारमाध्यमका लागि मात्र प्रेस प्रतिनिधि प्रमाणपत्र÷परिचयपत्र (प्रेस पास) जारी गरिने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।