काठमाडौं । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ । माथिल्लो मनाङ जोड्ने उक्त पुल बिहान आएको बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।
जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा समस्या भएको छ ।
गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मस्र्याङ्दी नदीमा आएको बाढीपहिरोले सडक सञ्जाल बगाएर विच्छेद भएको थियो । हिजो रातिदेखि परेको अवरिल वर्षाका कारण आज चामेको झोलुङ्गे पुल पनि बगाएपछि यात्रा झन सकस बनेको हो ।
“सडक सञ्जाल विच्छेद भए पनि झोलुङ्गे पुलले सहज बनाएकोमा त्यो पनि बगाएपछि अझ सकस भयो,” उहाँले भन्नुभयो, “अन्यत्र केही ठाउँमा बनाएको काठका गोरेटो बाटोसमेत मस्र्याङ्दी नदीमा आएको बाढीले बगाएको छ । वर्षात् कम हुँदा सहज हुन्छ की भन्ने आश लागे पनि पुनःवर्षा हुँदा समस्या जटिल बन्दै गएको छ । ”
बाढीपहिरा प्रभावितलाई खाद्यान्नलगायत अत्यावश्यक वस्तु पु¥याउन सहज भएको स्थानमा पनि समस्या थपिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए। चामेको मोटरेवल पुलमा भने हालसम्म समस्या रहेकोे छैन ।
पुलमा बाढीले ल्याएको बालुवा, ढुङ्गा र काठले पानी जाने बाटो थुनेर बस्तीतर्फ जाँदा त्यहाँस्थित विद्यालयमा क्षति पुगिरहेको छ । यसअघि नै आएको बाढीपहिरोले मनाङको सरकारी, गैरसरकारी तथा व्यक्तिगत भौतिक संरचनामा धेरै क्षति पुगिसकेको छ ।