काठमाडौं । कमला नदीको बाढीले धान खेत कटान गर्न थालेको छ । धनुषातर्फको बाँध कटान गरी बाढी खेतमा पसेको हो । किरतपुरनजिकको बाँध बचाउने प्रयास हुँदाहुँदै बाढीले क्षति पुर्याएको हो ।
बाढीले बाँधको पूर्ण भाग भासिएर बगेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सोमबार रातिदेखि सुरक्षाकर्मी परिचालन भए पनि बाढीले बाँध बगाएर खेत कटान गर्न थालेको जनाइएको छ ।
नियन्त्रणको प्रयास सफल नभए गाउँमै पानी पस्ने जोखिम रहेको छ । करिब ६०० मिटर बाँध अझै जोखिममा रहेको जनाइएको छ । सबैला नगरपालिकाकै पर्टेबानजिकको बाँध पनि भत्किने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
बाढीका कारण हुन सक्ने सम्भावित जोखिमबाट स्थानीयहरुलाई सतर्क गराइएको छ । बाँध भत्किएपछि धनुषाका पूर्वी क्षेत्रका गाउँहरू जोखिममा परेका छन् ।