काठमाडौं। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आज देखि बिजुली उत्पादन शुरु हुँदैछ । ४५६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट आजदेखि बिजुली उत्पादन गर्न लागिएको हो ।
आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट छ ।
आयोजनाले आइतबार विद्युत्गृह रहेको गोगरदेखि खिम्तीसम्मको ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो । आयोजना स्थलमा सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ ।
आइतबारसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो । सोमबारदेखि भने ती उपकरणलाई लोडमा चलाइने प्रवक्ता न्यौपानेले जानकारी दिए । आयोजनाबाट उत्पादित बिजुली विद्युत गृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । प्रवक्ता न्यौपानेका अनुसार ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ ।
उद्घाटनको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता न्यौपानेले नेपाली जनताले विगत १० वर्षदेखि देखेको सपना पूरा हुन लागेको बताए । यो आयोजना स्वदेशी लगानीमा निर्माण भएको हालसम्मकै ठूलो विद्युत् आयोजना हो ।