सोमवार, कार्तिक १० गते २०८३
सुजिता भण्डारी मृत्यु प्रकरण

सुजिता मृत्यु प्रकरण : निष्पक्ष छानबिन माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध    

सोमवार , आषाढ २१, २०७८

चितवन  । चितवनमा मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

उनीहरुले प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेर राजमार्ग अवरुद्ध गरेका हुन् । राप्ती नगरपालिका–३ झुरझुरेमा बिहान १०ः१५ बजेबाट सडक अवरुद्ध गरिएको हो ।     
     
असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव आइतबार साँझ घरबाट करीब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो ।     
     
स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा सवारी तेस्र्याएर विरोध प्रदर्शन गरेका छन् । फरेन्सिक चिकित्सकसहितको टोलीले आज बिहान घटनास्थलको निरीक्षण गरेपछि शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याउन लागेको एम्बुलेन्सलाई पनि स्थानीयवासीले अवरोध गरेका छन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीसहित सुरक्षाकर्मी रहेका छन् ।     
     
घटनास्थलमा रहनुभएकी राप्ती नगरपालिका प्रमुख प्रभा बरालले आफूहरु छलफलमै रहेको बताउनुभयो । शव ल्याउन अवरोध गरेपछि सो स्थलमा नगर प्रमुख बराल पुगेर सहजीकरण गरेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानीयवासीसँग छलफल गरेर राजमार्ग खुलाउने प्रयास भइरहेको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार