काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेका विभिन्न सामग्री खरिदमा अनियमितता भएको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित अध्ययन समितिले खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको हो ।
अनियमितता पुष्टि भए संलग्न पदाधिकारी तथा कर्मचारीमाथि भ्रष्टाचारको आरोप आकर्षित हुन्छ । उपचारसँग सम्बन्धित मास्क बजार मूल्यभन्दा दशौं गुणा महंगोमा खरिद गरिएको र प्रश्न उठाउँदा सम्बन्धित विभागमा ती सामग्रीहरूको आपूर्ति नै रोकिने गरेको अध्ययन प्रतिवेदनमा भनिएको छ ।
तीस हजार रुपैयाँ पर्ने सामग्री सोझै खरिदको नाममा पाँच लाख रुपैयाँसम्ममा खरिद गर्ने गरिएको फेला परेको जनाइएको छ । सिटीस्क्यान, एमआरआई, एचडीयू तथा फार्मेसीसम्बन्धी खरिदमा ठूलो अनियमितता भएको छानविन प्रतिवेदनमा उल्लेख छ । तर कति अनियमितता भयो भनी अंकमा खुलाइएको छैन ।
एमआरआई मेसिनको अभावमा त्यसका लागि बनेको भवन प्रयोगविहीन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
शैक्षिक गतिविधिमा केन्द्रित हुनुपर्ने पदाधिकारी र पूर्वपदाधिकारीहरु समेत आर्थिक लाभको लोभमा खरिदका क्रियाकलापमा संलग्न भएको प्रतिवेदनमा उल्लेख छ । त्यसले गर्दा प्रतिष्ठानको शैक्षिक गतिविधि प्रभावित भएको उल्लेख गरिएको छ ।