काठमाडौँ । भारतीय सेनाले बिहीबार सात जना माओवादी विद्रोहीलाई गोली हानेर मारेको छ । छत्तीसगढ राज्यको बस्तर क्षेत्रको दुर्गम जंगलमा भएको झडपमा उनीहरूको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
लामो समयदेखि जारी सशस्त्र द्वन्द्वलाई दबाउन सुरक्षा बलले प्रयास तीव्र पारेपछि पछिल्ला केही महिनामा भारतमा नक्सलवादी आन्दोलनका नामले चिनिने माओवादी विद्रोहीले व्यापक क्षति ब्यहोर्नु परेको छ ।
दशकौँ लामो नक्सलवादी आन्दोलनका क्रममा १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नक्सलवादी समूहका अनुसार भारतको संसाधन–समृद्ध मध्य क्षेत्रका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेका छन् ।
हालैका वर्षमा विद्रोह निकै खुम्चिएको छ । सुरक्षा बलको कारबाहीमा यस वर्ष दुई सयभन्दा बढी विद्रोही मारिएको सरकारी तथ्यांकले देखाएको छ ।