काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा आइतबार काठमाडौंको कोटेश्वरमा प्रदर्शन गरिएको छ । नेकपा एमालेकी नेतृ शान्ता चौधरीको नेतृत्वमा नेपाल भूमिहीन सुकुम्बासी संगठनले आयोग पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनमा उनीहरुले ‘सम्पूर्ण भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी एक हौ, भूमिसम्बन्धी समस्या समाधान आयोग पुनः स्थापना गर’ भन्दै नाराबाजी गरेका थिए । नेपाल भूमिहीन सुकुम्बासी संगठनकी अध्यक्ष शान्ता चौधरीले सरकारले भूमि आयोग पुनःस्थापना नगरे थप आन्दोलनलाई सशक्त पार्ने चेतावनी दिइन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो । तर देउवा सरकारले १९ साउनमा देवि ज्ञवाली नेतृत्वको आयोग खारेज गर्ने निर्णय गरेपछि त्यसको विरोध तथा प्रदर्शन हुँदै आइरहेको छ ।