शनिवार, कार्तिक ८ गते २०८३

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि, यस्ता छन् कार्यक्रम

शनिवार , कार्तिक ८, २०८३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय  जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ । दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियान उद्घाटन गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । 

ज्वालाका अनुसार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालको सम्बोधन गर्ने कार्यक्रम रहेको छ । असोज २३ गते बसेको बसेको नेकपाको केन्द्रीय संयोजन समिति बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानसँगै आगामी स्थानीय तह निर्वाचन अगाडि वडा र पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । 

‘राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा सङ्गठनात्मक विशेष अभियानका रूपमा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ’, निर्णयमा भनिएको थियो । 


यस्ता छन् कार्यक्रम 
पार्टी समितिहरू र जनवर्गीय तथा मोर्चा सङ्गठनहरूको समायोजनको बाँकी काम सम्पन्न गर्ने  सङ्गठित सदस्यता नवीकरण तथा विस्तार अभियान तीव्र रूपमा सञ्चालन गर्ने


पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमहरू सञ्चालन गर्ने


जनता र पार्टीबिचको सम्बन्धलाई प्रगाढ बनाउन जनताकेन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने सांस्कृतिकलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार