शुक्रवार, कार्तिक ७ गते २०८३

बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव

शुक्रवार , कार्तिक ७, २०८३

काठमाडौं । बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्ले सुझाव दिएका छन् । बिहीबारदेखि आइतबारसम्म झरी पर्ने भएकाले यस अवधीमा धान नकाट्न मौसमविद्को सुझाव छ । 

विशेषगरी किसान र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले ध्यान दिनुपर्ने उनको भनाइ छ । “धान पाकिसकेको छ र काटेर सुकाएर सुरक्षित रूपमा भित्र्याउन समय पुग्छ भने स्थानीय मौसम हेरेर मंगलबारअगावै काम सक्ने योजना बनाउनुहोला,” मौसमविद् विनोद पोखरेल भन्छन् । 

उच्च हिमाली क्षेत्रमा भारी हिमपात र चिसो बढ्ने सम्भावना भएकाले यात्रा वा ट्रेकिङमा जानेहरूले नियमित मौसम अपडेट तथा आधिकारिक सूचना हेरेर योजना बनाउन उनको सुझाव छ ।

मौसमविद् पोखरेलले बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली चक्रवात विकसित हुने सम्भावना रहेको र त्यसले झरी पार्ने बताएका छन् । “यसको प्रभावले बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै ठाउँमा झरी पर्नेछ । केही स्थानमा भारी वर्षा हुन सक्ने अहिलेको पूर्वानुमानले देखाउँछ,” मौसमविद् पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

यसपटक तल्लो तहको न्यूनचापीय प्रणालीसँगै माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखाको प्रभाव पनि देखिएको उनले बताएका छन् । यी दुईको अनुकूल संयोगले ओसिलो हावा माथि उठ्ने प्रक्रिया बलियो बनाएर नेपालमा भारी वर्षाको सम्भावना बढाउन सक्ने उनको भनाइ छ । 

भारी वर्षाको सम्भावना विशेषगरी कात्तिक १२ देखि १४ गतेसम्म बढी रहेको उनले जानकारी दिएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार