काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा नेपालका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच संक्षिप्त भेटवार्ता भएको छ।
‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सहभागी हुन दिल्ली पुगेका वाग्लेले बिहीबार राति मोदीसँग कुराकानी गरेका हुन्।
अर्थ मन्त्रालयका अनुसार नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित सम्मेलनमा मोदीले सम्बोधन गरेको सत्रमा वाग्ले अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रम सकिएपछि दुई नेताबीच छोटो भेट भएको मन्त्रालयले जनाएको छ। तर, उनीहरूबीच भएको कुराकानीको विषयवस्तुबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
सम्मेलनमा सहभागी हुन बिहीबार दिल्ली पुगेका अर्थमन्त्री वाग्लेले नेपाल र भारतबीचको आर्थिक सम्भावना तथा सहकार्यमा केन्द्रित ‘निकटताबाट समृद्धिः भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रलाई पनि सम्बोधन गरेका थिए। उक्त कार्यक्रममा उनले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउने सम्भावनाबारे धारणा राखेका थिए।
वाग्ले भारतीय विदेशमन्त्री एस। जयशंकर सहभागी अर्को विशेष सत्रमा पनि उपस्थित भएका थिए। उक्त सत्रमा बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका विषयमा छलफल तथा प्रश्नोत्तर भएको जनाइएको छ।
भारतको उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भएको भेटलाई नेपाल–भारत सम्बन्ध र आर्थिक सहकार्यका विषयमा विचार आदानप्रदान गर्ने अवसरका रूपमा हेरिएको छ। दुई देशबीच व्यापार, लगानी र आर्थिक साझेदारी विस्तारका विषय महत्त्वपूर्ण रहँदै आएका बेला भएको यो भेटले चासो बढाएको छ।
यद्यपि, मोदी र वाग्लेबीचको भेटमा कुन विषयलाई प्राथमिकता दिइयो, कुनै प्रस्ताव अघि सारियो वा औपचारिक सहमति भयो भन्नेबारे अहिलेसम्म सार्वजनिक जानकारी आएको छैन।