शुक्रवार, कार्तिक ७ गते २०८३

दशै मनाएर फर्किनेको संख्या बढेसगै उपत्यकामा सवारीको चाप बढ्दै

शुक्रवार , कार्तिक ७, २०८३

काठमाडौ। दशैं मनाउन काठमाडौँ उपत्यका छाडेका मानिसहरू फर्किन थालेपछि उपत्यका प्रवेश गर्ने मुख्य सडकमा सवारीसाधनको चाप बढेको छ।

दशैंको टीका र आशीर्वाद लिएर गाउँघरबाट फर्किने यात्रुको सङ्ख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरूमा आवागमन व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङ क्षेत्रका सडकमा सवारीसाधनको चाप बढेको छ।

दशैं बिदा सकिँदै जाँदा निजी तथा सार्वजनिक सवारीसाधनमार्फत राजधानी फर्किने यात्रुको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ।

यात्रुको आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले प्रमुख नाकासहित व्यस्त सडकमा निगरानी र व्यवस्थापनलाई तीव्र बनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सवारी चाप नियन्त्रण गरी यात्रालाई सहज बनाउन ट्राफिक प्रहरी परिचालन गरिएको बताए।


कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार उपत्यका प्रवेश गर्ने यात्रुको चाप दिनहुँ बढ्दै गएपछि सडकमा निगरानी थपिएको छ। सवारी आवागमन व्यवस्थित गर्ने र सम्भावित दुर्घटना कम गर्ने उद्देश्यले ट्राफिक प्रहरीलाई सक्रिय बनाइएको उनले जानकारी दिए।

उपत्यकाका मुख्य नाकाबाट दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना र ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन्। चाडपर्वपछि एकैपटक धेरै यात्रु फर्किने भएकाले सडकमा चाप बढ्ने गरेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार